स्थायी सम्पर्क व्यक्तिहरूका लागि ग्रामीण खानेपानी सेवा सहायता केन्द्र सुदृढीकरण तालिम सम्पन्न
सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजना (सुस्वा) ले कर्णाली प्रदेशका २८ वटा गाउँ/नगरपालिकामा सुरक्षित, दिगो तथा समावेशी खानेपानी सेवाको सुनिश्चितताका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यही सन्दर्भमा सुस्वा आयोजनाको सहयोगमा पालिकामा स्थापना गरिएका ग्रामीण खानेपानी सेवा सहायता केन्द्रलाई थप सुदृढ बनाउन स्थायी सेवा सहायता केन्द्र सम्पर्क व्यक्तिहरूका लागि ३ दिने तालिम सम्पन्न भएको छ।
२०८२ पुस २० देखि २२ गतेसम्म सञ्चालन भएको उक्त तालिममा १९ वटा गाउँ/नगरपालिकाका २२ जना स्थायी सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो। तालिममा ग्रामीण खानेपानी योजनाहरूको दिगोपनामा देखिएका समस्या तथा चुनौतीहरू, हालको खानेपानीको अवस्था, उपभोक्ता समितिहरूको क्षमता विकासको महत्व, खानेपानी योजनाको सञ्चालन तथा नियमित मर्मत–सम्भार प्रक्रिया, खानेपानी तथा सरसफाइसम्बन्धी कानुनी तथा वैधानिक प्रावधानहरू, सुशासन, योजनाको अवस्था विश्लेषण, तथा दिगो व्यवस्थापनका लागि सरोकारवालाहरूको भूमिका र जिम्मेवारीलगायत विषयहरूमा प्रशिक्षण तथा छलफल गरिएको थियो।
खानेपानी तथा सरसफाइ नीति २०८० को दफा ५.६.१३ अनुसार खानेपानी योजनाको सुचारुपनाका लागि सेवा सहायता केन्द्र स्थापना तथा सुदृढीकरणको व्यवस्था गरिएको छ। सोही नीति अनुरूप पालिकामा स्थापना भएका सेवा सहायता केन्द्रहरू मार्फत ग्रामीण खानेपानी योजनाको मर्मत–सम्भार र उपभोक्ता समितिहरूको क्षमता विकासलाई प्रभावकारी बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको हो।
तालिमको उद्घाटन खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, सुर्खेतका प्रमुख तथा सुस्वा आयोजना समन्वय कार्यालयका संयोजक श्री मनोजराज दैवज्ञज्यूको अध्यक्षतामा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका निमित्त सचिव श्री लोकराज पौडेलज्यूले गर्नुभएको थियो। तालिम सुस्वा आयोजनाका विज्ञहरू इन्द्रराज बडू, निराजन श्रेष्ठलगायतको टोलीले सहजीकरण गरेको थियो।
तालिमको अन्त्यमा सहभागीहरूले ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका खानेपानी योजनाको नियमित मर्मत–सम्भार, प्रभावकारी सञ्चालन र सक्रिय उपभोक्ता समितिको भूमिकालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै सुस्वा आयोजनाबाट सञ्चालन हुँदै आएका सेवा सहायता केन्द्र अन्तर्गतका क्रियाकलापहरूको अनुगमन, सहजीकरण तथा खानेपानी योजनाको मर्मत–सम्भारमा पालिकामा रहेको वाश (WASH) एकाइसँग समन्वय गरी कार्ययोजना तयार गरी प्रतिबद्धता प्रस्तुति गरिएको थियो।
यस तालिमले संविधानप्रदत्त खानेपानी तथा सरसफाइको मौलिक हक सुनिश्चित गर्न र दिगो विकास लक्ष्य (SDG 6) हासिल गर्न स्थानीय तहको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।